Monday, January 1, 2018

SEE परीक्षाकाे लागि तयारी कसरी गर्ने ?

विद्यार्थीले अध्ययनको समयतालिका बनाएर तयारी गर्नुपर्छ । त्यसबाहेक आत्मविश्वास बढाउने, चिन्ता नलिने तथा परीक्षाको रुटिनअनुसार विषयगत तयारी तथा अभ्यासलाई प्राथमिकता दिनुपर्छ । त्यसरी परीक्षाको तयारी गर्दा सफलता पाउन सकिन्छ ।
तयारी विधि
परीक्षा नजिकिँदै जाँदा विद्यार्थीहरू कसरी पुर्नपठन गर्ने भन्ने सन्दर्भमा अन्योलमा हुन्छन, तर यो छोटो समयमा पनि सामान्य अध्ययनविधि अपनाउँदा प्रसस्त फाइदा लिन सकिन्छ । आफूलाई गाह्रो लाग्ने विषयलाई प्राथमिकता दिएर अध्ययन गर्नुपर्छ । सबै विषयलाई आवश्यकताअनुसार कम–बढी समय छुट्याएर नियमित अध्ययन गर्नुपर्छ । अध्ययन गरेको विषय स्मरण गर्न बेग्लै समय छुट्याउनुपर्छ, जसका लागि सरसर्ती पुस्तक एवं नोट हेर्नुपर्छ । योजनाबद्ध र नियमित अध्ययन गर्ने विद्यार्थीले परीक्षाको समयमा पाठ घोक्ने होइन, आफूले अध्ययन गरेको विषय एवं पाठका सम्बन्धमा चिन्तन गर्नुपर्छ । आफूले अध्ययन गर्ने विषयवस्तु प्रती उक्तरदायी हुन पनि आवश्यकता रहन्छ ।

आत्मविश्वास
परीक्षाकोठा चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा आत्मविश्वास हो । जस्तोसुकै कठिन प्रश्न सोधिए पनि, अप्ठ्यारो अवस्था आए पनि त्यसलाई समाधान गर्छु भन्ने आत्मविश्वास परीक्षार्थीमा हुनुपर्छ । कतिपय विद्यार्थीमा आफूलाई आएको उत्तर पनि लेख्न नसक्ने र अरूको उत्तरपुस्तिका हेर्ने बानी हुन्छ, त्यसले थप अन्यौल सिर्जना गर्छ । यस्तो बानी त्याग्नुपर्छ । हलमा पुगेपछि कुनै–कुनै विद्यार्थी आफूले जानेको कुरा पनि बिर्सन्छन्, डरले काम्ने, चिढ्चिढाउने प्रवृत्ति हुन्छ । यस्तो समस्या आत्मविश्वासको कमीले हुन्छ ।

चिन्ता नलिने
जब परीक्षा आउँछ, विद्यार्थीलाई चिन्ताले सताउन थाल्छ । राम्रा विद्यार्थी कम नम्बर आउने हो कि भनेर चिन्ता गर्छन् भने मध्यम खालका विद्यार्थी उत्तीर्ण हुन नसकिएला कि भन्ने चिन्तामा हुन्छन् । आफूलाई कमजोर मान्ने विद्यार्थी कसरी परीक्षामा सामेल हुने विषयमै चिन्तित हुन्छन्, तर यसरी परीक्षाको घडीमा चिन्ता लिँदा सिकेको र जानेको कुरा पनि लेख्न नसकिने हुन्छ । तसर्थ सिकेको र जानेको कुरालाई नयाँ ढंगले प्रस्तुत गर्ने सोच बनाउनुपर्छ । त्यसले चिन्तालाई केही हदसम्म कम गर्छ । तनाव कम गर्दै कसरी परीक्षामा राम्रो अंक ल्याउने भन्नेतर्फ आफूलाई केन्द्रित गर्नुपर्छ । सकारात्मक सोच एवं परिश्रमको फल मीठो हुन्छ भन्ने भावना मनमा जगाउनुपर्छ ।

लगनशीलता

लगनशीलताबिना कुनै पनि क्षेत्रमा सफल हुन सकिँदैन । त्यसैले परीक्षार्थीले विषयवस्तुमा ध्यान दिनैपर्छ र ती विषयवस्तुलाई कसरी नयाँपनका साथ प्रस्तुत गर्ने भन्ने चिन्तन गर्नुपर्छ । कुनै विद्यार्थी लगनशील छ भने उसले नतिजामा पछुताउनु पर्दैन । जान्नका लागि सधैं उत्सुक हुने, आफूलाई मन लागेको बेला पढ्ने र अल्छी लागे पनि त्यही विषयसँग सम्बन्धित अनौपचारिक क्रियाकलापहरू गर्दा स्थिति सहज हुन्छ । नयाँ कुरा सिक्न र जान्न खोज्ने बानीको विकासले लगनशील हुन प्रेरित गर्छ । सिक्दै जाँदा नजानेको र अप्ठ्यारो विषय आए शिक्षक वा आफूभन्दा जान्ने साथीसँग सोधीखोजी गर्नुपर्छ ।
अभ्यास
लगनशीलताले मानिसलाई नयाँ–नयाँ कुरा खोज्न प्रेरित गरेझै अभ्यासले त्यो कुरालाई पूर्ण बनाउन मद्दत गर्छ । विशेष गरी गणित, विज्ञानजस्ता प्रयोगात्मक विषय बारम्बार अभ्यासले परीक्षामा सहज बनाउँछ । परीक्षा नजिकिँदै जाँदा पाठ्यपुस्तकभन्दा पनि विगतका परीक्षामा सोधिएका प्रश्नपत्रहरूको संकलन गरी अभ्यास गर्नु फलदायी हुन्छ । आफूले अध्ययन गरिसकेपछि ती विषयको अभ्यासलाई पटक–पटक दोर्होयाउनु लाभदायक हुन्छ । यी सम्पूर्ण कुराहरुमा ध्यान दिएमा मात्रै परीक्षामा सफल हुन सकिन्छ